
रुकुम पूर्व । रुकुमकोट जिल्ला अदालतले गएको साउन महिना देखि माघ १० गते सम्मको मुद्दाको अवस्था सार्वजनिक गरेको छ । बुधबार रुकुमकोट जिल्ला अदालतले मुद्दाको अवस्थाबारे पत्रकार सम्मेलन मार्फत विवरण सार्वजनिक गरेको हो । जसमा विभिन्न २४ प्रकारको मुद्दा मध्ये सम्बन्ध विच्छेदको मुद्दा धेरै रहेको छ ।
विभिन्न २४ प्रकारका मुद्दा गरी एक सय ४४ मुद्दा परेकोमा सम्बन्ध विच्छेदको मुद्दा ६८ वटा रहेको रुकुमकोट जिल्ला अदालतका स्रेस्तेदार भुपाल भण्डारीले बताउनुभयो । स्रेस्तेदार भण्डारीका अनुसार ४० वटा मुद्दा फछ्र्याैट गरिएको छ भने २८ मुद्दा बाँकी रहेको छ । त्यस्तै जबरजस्तीकरणी मुद्दा दोस्रो स्थानमा रहेको अदालतले जनाएको छ । करणीका १४ वटा मुद्दा मध्ये ८ फछ्र्याैट गरिएको छ भने ६ बाँकी रहेको बताइएको छ ।
लेनदेनको मुद्दा ६, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जालसाजी ५/५, कुटपिट, डाँका चोरी ४/४, लिखत बदर, लागु औषध, बहुविवाह, नकवजनी चोरी, चोरी, बैंकिङ कसुर मुद्दा ३/३ वटा रहेको छ । अंश, चेक अनाडर, हातहतियार खरखजाना, विद्युतीय कारोवार, जग्गा खिचलो २/२, अभद्र व्यवहार, पञ्जिकरण सम्बन्धी कसुर, सवारी ज्यान, वालविवाह, सार्वजनिक शान्ति विरुद्धको कसुर १/१ मुद्दा रहेका छन । समग्रमा हेर्दा एक सय ४४ मुद्दा मध्ये ९१ फछ्र्याैट भएको छ भने ५३ वटा बाँकी रहेको अदालतको तथ्याङ्कमा रहेको छ ।
थुनुवा संख्या १० रहेकोमा ९ पुरुष र १ महिला कैदी रहेको बताइएको छ । सम्बन्ध विच्छेद हुनुको मुख्य कारण मादक पदार्थ सेवन गरी दाम्पत्य बीच झगडा हुनु तथा कुटपिट, वैदेशिक रोजगार, गरिबी र सानो उमेरमा विवाह हुँदा पछि गएर दाम्पत्य बीच विवाद सिर्जना हुँदा सम्बन्ध विच्छेद बढेको जिल्ला न्यायाधिश प्रेम प्रसाद न्यौपानेले बताउनुभयो ।