प्यूठान । ऐरावती गाउँपालिकाको वडा नम्बर १ स्थित दाङवाङ माध्यमिक विद्यालयको छात्रावास भवन निर्माणका लागि भारतीय दूतावासले सहयोग गर्ने भएको छ । भवन निर्माणका लागि गाउँपालिका र दूतावासबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
दूतावासको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लागतमा बिद्यालय भवन तथा छात्रावास भवन निर्माण गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले जानकारी दिनुभयो ।
विद्यालय परिसरमा छात्रावास ब्लक, पठनपाठन ब्लक, शौचालय, छेकवार पर्खाल लगायतका संरचना निर्माण गरिने सम्झौता पत्रमा उल्लेख छ। यी कार्य सम्पन्न गर्न ऐरावती गाउँपालिकाबाट तयार भएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा ४ करोड ९८ लाख ६६ हजार १८३ रुपियाँ लागत अनुमान गरिएको वडा अध्यक्ष अमर रेश्मी मगरले जानकारी दिनुभयो ।
भारतिय दूतावासका काउन्सिलर डेभलमेन्ट पार्टनरशीप करुण बंशल, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप-सचिब महेन्द्र सापकोटा र ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले त्रिपक्षिय सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
गाउँपालिकाको दुर्गम क्षेत्र दाङवाङमा बिद्यालय भवन तथा छात्रावास निर्माण भए शिक्षा सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । छिट्टै विद्यालयमा कक्षा १२ सम्म सञ्चालन गर्नेगरी तयारी थालेको वडा अध्यक्ष रेश्मी मगरले जानकारी दिनुभयो ।