देउखुरी । राप्ती गाउँपालिका दाङको दोस्रो गाउँसभा तथा चौथो हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ । गाउँसभाले विभिन्न ५ वटा विधेयक पारित गरेको छ ।
सभाले राप्ती गाउँपालिकाकाे खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, भूमि विधेयक २०८०,कृषि तथा पशुपंक्षी विधेयक २०८० , मदिरा तथा हलुका पेय पदार्थ (व्यवस्थापन तथा नियमन) विधेयक २०८०र आर्थिक ऐन २०८० काे संशोधन सम्बन्धि विधेयक पारित गरेको गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभयो ।
त्यस्तै गाउँसभाले गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार पेश भएका गाउँपालिकाकाे न्यायिक समितिको प्रगति प्रतिवेदन,याेजना अनुगमन तथा सुपरिवेक्षण समितिकाे प्रतिवेदन,सार्वजनिक लेखा समितिको प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ काे स्वीकृत बजेट तथा कार्यक्रमकाे स्राेतान्तर तथा रकमान्तर प्रस्ताव अनुमोदन गरेको प्रवक्ता चाैधरीले जानकारी दिनुभयाे ।
सभामा गाउँपालिकाको चालू आर्थिक वर्ष २०८०/८१ काे फागुन मसान्तसम्मकाे प्रगति समिक्षा प्रतिवेदन गाउँसभाका सचिव एवम् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले प्रस्तुत गर्नु भएको थियो ।
सभाको शून्य समयमा सभाका सदस्यहरुले समसामयिक विषयमा जिज्ञासा राख्नु भएको थियो भने सभाका सभा अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चाैधरी, सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली र शाखाका शाखा प्रमुखहरुले उठेको जिज्ञासाहरुकाे उत्तर दिनुभएको थियो ।
गाउँसभा समापन समारोहलाई सम्बोधन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाकाे समग्र विकासको लागि प्रयत्नशील रहेको बताउनुभयो ।
त्यस्तै उहाँले जनताको सेवाको लागि जनप्रतिनिधि हाेस् या कर्मचारी सबै आत्मा सन्तुष्टिका साथ लाग्नुपर्ने बताउदै शिक्षा ,स्वास्थ्य ,उद्धमशीलता लगायत फाेहाेरमैला व्यवस्थापनकाे काम निरन्तर भई रहेको बताउनुभयो ।
गाउँ पालिकाकाे गाैरवकाे योजनाकाे रुपमा रहेको राप्ती चक्रपथ लाई विस्तार गर्नका लागि प्रदेश सरकार समक्ष प्रस्ताव पेश गरेको समेत जानकारी दिनु भयो ।