
प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले सहकारी संस्थाहरुको लेखा ब्यवस्थापनलाई व्यबस्थित गर्न भन्दै सहकारीका ब्यवस्थापन र प्रतिनिधहरुलाई लेखा व्यवस्थापन तालिम सुरु गरिको छ । बिहिबार झिमरुक गाउँपालिका-५, मच्छि स्थित जलजला होटलको सभाहलमा सहकारी कर्मीहरुलाई सुरु गरिएको तालिकको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले उद्घाटन गर्नुभएको हो ।
सहकारीको लेखा व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउनका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीेले बताउनुभयो । तालिकको उद्घाटनको क्रममा अध्यक्ष महतरा क्षेत्रीेले पछिल्लो समय देशमा सहकारीका विषयमा नकारात्मक प्रतिक्रिया आइरहेको सन्दर्भमा झिमरुकका सहकारीहरुलाई व्यवस्थित, सक्षम र सुशासनयुक्त बनाउनु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरी पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले सहकारी अभियानलाई व्यवस्थीत बनाउन सबै नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सहकारी भित्रका लेखा व्यवस्थापनका कमीकमजोरीहरुलाई हटाउँदै सबल सहकारी निर्माणमा पालिका लागेको समेत जानकारी दिनुभयो । उपाध्यक्ष पोख्रेलले सहकारीले प्रदान गर्ने ऋणलाई उद्देश्य अनुरुप कार्यान्वयन भए नभएको अनुगमन गरी सहकारीको ऋण असुलीलाई ध्यान दिन आग्रह समेत गर्नुभएको थियो ।
५ दिन सम्म चल्ने तालिममा प्रशिक्षक सहजीकरण लुम्बिनी प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेल र पत्रकार शशिधर भण्डारीले सहकारी क्षेत्रको लेखा ब्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा सञ्चालक तथा अध्यक्षहरूको भूमिका, सहकारी ऐन, नियमावली, आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन, विकास व्यवस्थापन प्रतिवेदन, विश्लेषण, बैठक सञ्चालन प्रक्रिया, नेतृत्वको भूमिकाल गायतका विषयमा सहजीकरण गरिने आयोजकले जनाएको छ। कार्यक्रममा झिमरुक गाउँपालिकामा सञ्चालित विभिन्न सहकारी संस्थाहरुबाट ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो।
झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षता, गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद पोख्रेलको जनप्रतिनिधि सहकारीकर्मी लगाएतको उपस्थिती रहेको थियो । पालिकाको सहकारी शाखा प्रमुख अरबिन्द्र महतले स्वागत मन्तव्य राख्नु भएको थियो।