प्युठान । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा (मसाल) प्युठानले तीन अभियान समापन गरेको छ । बुधबार जिल्लाको मित्रमणी चोक बिजुवारमा आयोजित कार्यक्रममा १३५ औं मजदुर दिवस र पार्टीको नवौं महाधिवेशनको घोषणा सभासमेत गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले अहिले देशमा बढिरहेको प्रतिगमनको खतरा, भारतीय बिस्तारबाद र अमेरिकी साम्राज्यवादको दलदलबाट बच्न हरेक नेपाली सचेत हुनुपर्ने बताउनुभयो ।

भारतले नेपालमा गर्दै आएको हस्तक्षेपबाट कुनै पनि सरकार स्थिर हुन नसक्नुले देशमा राष्ट्रियता खतरामा पर्दै गएको उहाँको तर्क रहेको छ । दलहरूको सत्तामोह र बिदेशी शक्तिको हस्तक्षेपको कारण गणतन्त्रनै धरापमा पार्न खोजिएकोले सचेत हुन उहाँ कार्यकर्तालाई आग्रह गर्नुभयो । प्रतिगामी शक्ति र प्रतिगमन विरुद्धको आन्दोलन, सङ्घीयता विरुद्धको आन्दोलन, भारतले नेपालका भूमि मिचेको विरुद्धमा राष्ट्रप्रेमी नेपाली एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो ।

नेकपा मसालको नवौँ महाधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ भने महाधिवेशनले पाँच वर्षको मूल्यांकन, अन्तर्राष्ट्रिय परिस्थिति, देशको राजनीतिक शक्तिहरुको विश्लेषण, तत्कालीन राजनैतिक परिस्थितिको मूल्यांकन, कार्य नीतिसहित न्यूनतम कार्यक्रमहरू पनि निर्धारण गरिएको निष्कर्ष मसलको छ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, राजमो लुम्बिनी प्रदेशका सदस्य सुरेश थापा, अखिल (छैठौं) का महासचिव सुवाश जिसी र अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष सुरेश श्रेष्ठ लगाएतले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा गाउँगाउँबाट मसल र राजमो निकटका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । जुम्री बजारवाट सुरु भएको जुलुस सहित र्याली विजुवार बजारको मित्रमणि चोकमा पुगेर सभामा परिणत भएको थियो ।

नेकपा (मसाल)का जिल्ला प्रवक्ता राम पहाडीको अध्यक्षता तथा जनजाती नेता अम्मरध्वज रानाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर