प्यूठान । जिल्लामा सार्वजनिक यातायातले तोकिएको भन्दा बढी भाडा लिने गरेको भन्दै राष्ट्रिय जनमोर्चा प्यूठानले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको नेतृत्वमा जिल्ला समितिका पदाधिकारीको टोलिले ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएको हो ।
जिल्लामा लामो समय सम्म भाडादर कायम गर्ने बिषयमा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको आन्तरिक सडकहरुमा भाडादर अत्यधिक हुँदा समुदाय मर्कामा परिरहेकोले जनताको दैनिकी आवाज लिएर जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनुभयो ।
उहाँले छिमेकी जिल्ला रोल्पा, गुल्मी, अर्घाखाँचीमा भन्दा प्यूठानमा धेरै भाडा लिने गरेको बताउनुभयो । साथै उहाँले कतिपय स्थानहरुमा प्रति किलोमीटर २० रुपैया सम्मका दरले भाडा लिने गरेको भन्दै यो बिषयमा तत्काल निकास गर्न आग्रह गर्नुभयो ।
यातायातका तमाम समस्या, यात्रुप्रति गरिने व्यबहार, तोकिएको स्थानमा यातायात नपुग्ने र बहानाबाजि लगायतका समस्या समेत रहेकोले समाधान गर्न जनमोर्चाले आग्रह गरेको छ ।
“पार्टीले यातायातका सवालमा पटकपटक ध्यानाकर्षण गराउने गरेको भएपनि समस्या समाधान हुन सकेका छैनन,” उहाँले भन्नुभयो, “यस बिषयमा सम्बन्धित निकाय मौन भएमा पार्टीले आन्दोलन गर्नपछि पर्दैन ।”
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायण नारायण प्रसाद आर्यालले यातायात सेवा सहज सरल गराउन पटकपटक छलफल भएको बताउनुभयो । “भाडादर टास गर्न लगाएका छौँ,” उहाँले भन्नुभयो,”चालक, सह-चालकलाई ड्रेसको ब्यबस्था गर्नका लागि निर्देशन दिएका छौँ ।”
जेष्ठ नागरिकको लागी यातायातमा छुट दिने ब्यबस्था कार्यान्वयन गर्नका लागि सहमति भएको बताउँदै उहाँले क्रमश: सुधार गर्दै लैजाने बताउनु भयो । चर्को भाडादर लगायतको बिषयमा सर्वपक्षीय छलफल गरि समाधान गर्न सकिने उल्लेख गर्नुभयो।
सरकारले सार्वजनिक यातायातका साधनहरुलाई चार भागमा बाडेर भाडादर कायम गर्ने नितिगत ब्यबस्था रहेको भएपनि यसको सहि र ब्यबहारिक कार्यान्वयन हुन नसक्दा आम जनता मर्कामा छ्न ।