प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले गरेका कार्यको समिक्षा गरेको छ । मंगलबार गाउँपालिकाको सभाहलमा मच्छिमा भएको समिक्षा कार्यक्रममा गएको आर्थिक वर्षमा गरिएका कामको आर्थिक तथा भौतिक प्रगतिको बारेमा समिक्षा गरिएको हो ।

झिमरुकका ८ वटै वडाका वडा अध्यक्षहरु सम्पुर्ण शाखा प्रमुखहरुले पालिका तथा वडा कार्यलयबाट वार्षिक रुपमा गरेका कर्यक्रमहरुको प्रगति प्रस्तुत समेत गरेका थिए। प्रगति समिक्षामा शाखा प्रमुख तथा वडा अध्यक्षहरुले प्रगतिसँगै योजनाको कार्यान्वयन पक्षमा कार्यस्थलमा परेको कतिपय समस्याहरु आउने गरेकोले समस्याको निराकरण गर्दै पालिकाको वृहत्तर हितामा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

पालिकाको समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले कार्यस्थलमा भएको कमी कमजोरीलाई आत्मसात गर्दै सिकाइ र परिणाममुखी बनाउन सबैको भुमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । उपलब्धि हासिल गर्न सबै लाग्नुपर्छ । उहाँले भन्नुभयो, “रिजल्ट निकाल्ने गरि काममा जुट्नुको विकल्प छैन ।” त्यसको लागि एजेन्डामा प्रष्ट हुँदै आफ्नो कुरा सम्बन्धित फोरममा राख्ने र निष्कर्षमा जादै कार्यान्वयन पक्षमा दिढताका साथ लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै समिक्षा बैठकमा गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले  योजना तथा कार्यक्रमको समग्र कार्यान्वयनका पक्षमा देखिएको ढिलासुस्ती हटाउन जनप्रतिनिधि, कर्मचारी र स्थानित उपभोक्ता समितीहरुले सहकार्य गर्दै लागेमा जनचाहना अनुसार उपलब्धि हासिल गर्न सकिने बताउनुभयो । जहिलेपनी जनताको काममा कर्मचारी र जनप्रतिनिधि सहयोगी बन्नुपर्ने उहाँले बताउनुभयो ।

साझा दायित्व अन्तर्गत विकास निर्माण र सेवा प्रवाहलाई थप व्यवस्थित गर्दै गुनासो रहित बनाउन कर्मचारी एकजुट भएर कार्यस्थलमा जुट्न झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाहिले कर्मचारीलाई आग्रह गर्नुभयो । कतिपय योजना कार्यान्वयनका समयमा केही समस्या रहेपनी सामुहिक छलफलबाट समस्याको समाधान गर्दै जनप्रतिनिधि र कर्मचारी लाग्नुपर्ने उहाँको भनाइ थियो।

गाउँपालिकाको गएको चालु आर्थिक वर्षमा ८५.७५ प्रतिशत खर्च गरेको छ । आर्थिक वर्ष ०८०/०८१ को चालु खर्च ८७.४३ प्रतिशत र पुँजिगत खर्च ८०.५३ प्रतिशत भएको झिमरुक गाउँपालिकाका लेखा अधिकृत पिताम्बर मरासिनीले जानकारी दिनुभयो।

पालिकाको आर्थिक वर्ष २०८०/०८१ को बित्तीय तथा भौतिक प्रगति समेत सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा चालु तर्फ ३८ करोड ९८ लाख बिनियोजन गरेकोमा ३४ करोड ८ लाख ६८ हजार ६ सय ३१ रुपियाँ ३० पैशा खर्च भएको झिमरुक गाउँपालिकाका लेखा अधिकृत पिताम्बर मरासिनीले जानकारी दिनुभयो।

त्यसैगरी पुँजिगत तर्फ १२ करोड ४९ लाख ६२ हजार ४ सय ८३ रुपियाँ १२ पैसा बिनियोजित बजेट मध्ये १० करोड ६ लाख २८ हजार ३ सय ८३ रुपियाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै प्रदेश समानिकरण अनुदान २५ प्रतिशत र संघीय समानिकरण अनुदान ७ प्रतिशत बजेट निकासा नभएको लेखा अधिकृत मरासिनीले जानकारी दिनुभयो।

मरासिनीका अनुसार संघीय राजस्व बाडफाड बाट प्राप्त हुने रकम मध्ये १५ प्रतिशत र प्रदेशको राजस्व बाडफाडबाट ५ प्रतिशत रकम प्राप्त नभएको शिक्षा, स्वास्थ्य र कृषिका केही कार्यक्रममा समस्या भएको लेखा अधिकृत मरासिनीले जानकारी दिनुभयो । कार्यक्रममा पालिकाका प्रत्येक शाखागत रुपमा प्रगति सार्वजनिक गरिएको थियो ।

योजना शाखाका शाखा प्रमुख सुकदेब रिजालले गएको चालू आर्थिक वर्षमा सबै वडा र पालिका गरि जम्मा ३ सय ३१ योजनाको सम्झौता भएकोमा ३ सय २९ योजनाले काम सम्पन्न भइ योजनाको भुक्तानी समेत पठाइएको जानकारी दिनुभयो । स्वास्थ्य शाखाले ९० वटा कार्यक्रम र ८ वटा भौतिक पुर्वाधार योजनाको कार्यक्रमको भौतिक प्रगति ९७ प्रतिशत भएको स्वास्थ्य शाखा प्रमुख बिकास केसीले जानकारी दिनुभयो ।

त्यस्तै पालिकाको समग्र भौतिक पुर्वाधार तर्फ ८०.५३ प्रतिशत भौतिक प्रगति देखिएको छ । रोजगार कार्यक्रममा ९३.६१ प्रतिशत, पशु स्वास्थ्य शाखाको ७२.४९, सहकारी शाखामा ८६.७२ प्रतिशत, र कृषि शाखामा ६३.२ प्रतिशत प्रगति भएको समिक्षा कार्यक्रममा जानकारी दिइएको छ। पन्जिकरण शाखाको रिपोर्ट अनुसार यो आर्थिक वर्षमा जन्मदर्ता ५ सय ६२, मृत्यु दर्ता २ सय ९७, विवाह दर्ठा ४ सय ३३, बसाइँसराइ अन्तर्गत सरि आएको ५५ र बसाइँसराइ गरि गएको ३ सय २२ र सम्बन्ध विच्छेद गर्नेमा २१ जना जोडि देखिएको छ । न्यायीक समितिको कार्यक्रममा ७५ प्रतिशत प्रगति भएको शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय